२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

‘पार्टीले चाहे अहिले नै राजीनामा दिन तयार छु’

द नेप्लिज संवाददाता
१२ जेठ २०८२, सोमबार

Advertisement

विराटनगर— भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई जोडेर नेपाली कांग्रेसभित्रैबाट उठेको राजीनामाको मागले सोमबार बसेको पार्टी पदाधिकारी बैठक तरंगित बनाएको छ। बैठकको सुरुवातमै गृहमन्त्री लेखकले आफूविरुद्ध पार्टी नेताहरूबाट सार्वजनिक रूपमा उठाइएको टिप्पणीप्रति दुःख व्यक्त गरे। उनले पार्टीले निर्देशन दिए जुनसुकै बेला राजीनामा दिन तयार रहेको स्पष्ट सन्देश दिए।

‘पार्टीलाई कतै असहज वा अप्ठ्यारो भयो भने म राजीनामा दिन तयार छु,’ बैठकमा लेखकले भने, ‘संसद्को दबाबमा नभइ पार्टीको निर्णयमा आधारित भएर मात्र म राजीनामा दिन्छु।’

बैठकमा अधिकांश पदाधिकारीको आलोचनाको केन्द्र कांग्रेस नेता शेखर कोइराला बने। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत तथा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईमाथि अनुसन्धान सुरु गरेलगत्तै कोइरालाले गृहमन्त्री लेखकले नैतिकता प्रदर्शन गर्दै राजीनामा दिनुपर्ने टिप्पणी गरेका थिए।

‘संलग्नता नहुन सक्छ, तर राजनीतिक नैतिकता पनि हुन्छ,’ शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कोइरालाले भनेका थिए, ‘स्वच्छ छुँ भन्ने देखाउन राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्छ।’

कोइरालाको अभिव्यक्तिपछि सांसद सुनिल शर्मा र राजेन्द्र बजगाईंले पनि राजीनामा मागेका थिए। तर सोमबारको बैठकमा पूर्वमहामन्त्री शशांक कोइरालाले आफ्नै दाजु शेखरसहित अरू दुई सांसदलाई पार्टीले स्पष्टीकरण सोध्नुपर्ने धारणा राखे। ‘उहाँ (लेखक) ले कुनै गल्ती गर्नुभएको छैन,’ शशांकले भने, ‘बेबुनियादी आरोप लगाउनेहरूसँग स्पष्टीकरण माग्नुपर्छ।’

उपसभापति पूर्णबहादुर खडकाले अख्तियारले बयान समेत नलिएको, फरेन्सिक रिपोर्ट नआएको र गृहमन्त्रीसँग कुनै तर्क र आधार नजोडिएको अवस्थामा वरिष्ठ नेताबाट राजीनामाको माग हुनु पार्टी अनुशासनको गम्भीर उल्लंघन भएको बताए। ‘पार्टीभित्र अनुशासनहीनता उत्कर्षमा पुगेको छ,’ उनले भने।

सभापति शेरबहादुर देउवाले पनि बैठकमा नेताहरूले भित्र मिठा कुरा गरेर बाहिर चर्का टिप्पणी गर्ने प्रवृत्तिप्रति असन्तोष व्यक्त गरे। महामन्त्री गगन थापाले भने, ‘फैक्ट र एविडेन्स नै नभइ जुन ढंगले कुरा उठाइएको छ, त्यो ठीक होइन।’

गृहमन्त्री लेखकले मंगलबार संसद बैठकमा आफूमाथि उठेका आरोपबारे जवाफ दिने कार्यक्रम तय भएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए। उनले भने, ‘डेढ लाख कर्मचारी भएको गृह मन्त्रालयमा कसैले गल्ती गर्यो भनेर मन्त्रीले राजीनामा दिनुपर्ने हो भने कुनै मन्त्री बाँकी रहँदैन।’

सहसचिव भट्टराईलाई अध्यागमन विभागमा ल्याएको विषयमा समेत लेखकले स्पष्टिकरण दिएका छन्। उनका अनुसार त्यसबेला अध्यागमन प्रमुख सुरेश पन्थीले स्वेच्छाले सरुवा मागेका थिए र तीर्थराज भट्टराईलाई रिक्त पदमा पठाइएको थियो।

‘पन्थीले बारम्बार सरुवा मागेपछि उपयुक्त व्यक्ति खोज्दा भट्टराई भेटिएका हुन्,’ लेखकले भनेको घिमिरेले उद्धृत गरे। उनले आरोपलाई सुनियोजित षड्यन्त्र भन्दै कानुनी रूपमा दोषी ठहरिएरमात्र सजाय पाउने प्रचलन उल्लंघन नगरिनुपर्ने धारणा राखे।

यसरी भिजिट भिसा प्रकरणले नेपाली कांग्रेसभित्र शक्ति संघर्ष र अनुशासनको प्रश्न उठाएको छ। अब केन्द्रीय समितिको बैठकमा यस विषयमा थप बहस हुने देखिन्छ।
#भिजिट# भिसा

प्रकाशित : १२ जेठ २०८२, सोमबार 22:08
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved