६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

सरकार लचिलो हुँदै ‘नो केबलकार समूह’ लाई वार्तामा बोलायो

द नेप्लिज संवाददाता
१२ फागुन २०८१, सोमबार

Advertisement

विराटनगर– हाललाई केवलकार निर्माण स्थगित गर्न तयार रहेको प्रतिबद्धता जनाउँदै सरकारले आन्दोलनरत पक्षलाई वार्तामा आउन अनुरोध गरेको छ ।

स्थानीयको इच्छा विपरित ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण भइरहेको छ । सरकारद्वारा गठित वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले सोमबार विज्ञप्ति जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका हुन् । अहिले यो विषयमा सडकदेखि सदनसम्म चर्को बहस भइरहेकाले  सरकार दबाबमा देखिन्छ । यस अगाडि सम्म सरकार र सरकारमा सामेल दलका अगुवा नेता निर्माण पक्ष तिर ढल्केर बोलिरहेका थिए ।

आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताबाटै समाधान गर्न उक्त केबुलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने सन्देश उक्त विज्ञप्ति मार्फत दिइएको छ । ‘वार्ता र  संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन अनुरोध गर्दछु,’भट्टराईको विज्ञप्तिमा उल्लेख छ । यसअघि आन्दोलनरत पक्षसँग विभिन्न चरणमा भएका वार्ता सुखद रहेन । माघ २२ मा भएको वार्ताले केबुलकार निर्माण कार्य तत्काललाई स्थगित गर्ने र माघ २७ मा दोस्रो चरणको उच्चस्तरीय राजनीतिक वार्ता बस्नेसहित ६ बुँदे सहमति भएको थियो ।

तर २७ गते गृहमन्त्रालयका सहसचिव भट्टराईकै नेतृत्वमा खटिएको सरकारी टोलीसँग नभइ राजनीतिक संयन्त्रसँग मात्रै बैठकमा बस्ने भन्दै आन्दोलनरत पक्षले वार्ता बहिस्कार गरेका थिए । वार्तामा सहभागि कर्मचारीतन्त्रको निर्णय सरकारले कार्यान्वयन गर्ने आशंका कारणले आन्दोलनरत पक्ष सोझै उच्च राजनीतिक तहसँग वार्ता गर्न चाहेको हो । पाथीभरामा केबुलकार बनाउने विषयमा माघ १२ मा प्रहरी र नो केबुलकार पक्षबीच झडप भएकपछि सिर्जना भएको विवाद एक महिना हुँदासम्म मत्थर हुन सकेको छैन । निरन्तर झड्प भइरहेकै छ । ‘ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानमा सरोकारवाला आयोजना निर्माण पक्षसँग समन्वय गरी आन्दोलनरत पक्षसँग निरन्तर संवाद भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : १२ फागुन २०८१, सोमबार 20:28
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved