१३ वैशाख २०८२, शनिबार 26 Apr 2025, Saturday

पहिलो प्रदेश लगानी सम्मेलन सफल पार्न उद्योगी व्यवसायी प्रतिबद्ध

द नेप्लिज संवाददाता
१२ वैशाख २०८२, शुक्रबार

Advertisement

विराटनगर– प्रदेश सरकारले आउँदो बैसाख १८ र १९ गते आयोजना गर्न लागेको पहिलो प्रदेश लगानी सम्मेलन सफल पार्न यहाँका उद्योगी व्यवसायीले सार्वजनिक प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सहज परियोजनाको सहयोगमा शुक्रबार आयोजना गरेको कोशी प्रदेश लगानी सम्मेलन सफल बनाउने उद्देश्यले प्रदेशमा लगानीका संभावना, अवसर र चुनौती विषयक अन्तरसंवाद कार्यक्रममा उद्योगी व्यवसायीहरुले सार्वजनिक प्रतिबद्धता जनाएका हुन् । 

उद्योग वाणिज्य महासंघ कोशी अध्यक्ष राजेन्द्र राउतले लगानीका लागि अपार संभावना भएपनि यस प्रदेशमा सोचेजस्तो आर्थिक गतिविधि हुन नसकिरहेको अवस्थामा प्रदेश सरकारले लगानी सम्मेलनले यहाँका उद्योगी व्यवसयी तथा निजी क्षेत्र अत्यन्तै उत्साहित भएको बताएका छन् । ‘नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कोशी प्रदेशमा लगानी किन गर्ने, प्रदेशको अवस्था कस्तो छ, लगानी गर्दा हुने फाईदा, कस्ता लगानीमा अवसर छ, अहिले देखिएका चुनौतीलाई कसरी समाधान गर्ने लगायतका विषयमा अध्ययन गरेर एउटा प्रतिवेदन सार्वजनिक गरेका छौं,’ उनले भने, ‘प्राकृतिक सम्पदा, उत्पादन, आय र रोजगारीका असीमित सम्भावना र रणनीतिक अवस्थितिका कारण कोशी प्रदेश नेपालको अर्थतन्त्रको मेरुदण्ड रुपमा रहँदै आएको छ ।  सगरमाथाको काखदेखि तराईको उर्वर भूमिसम्म फैलिएको यो प्रदेशले कृषि, जलविद्युत्, पर्यटन, शिक्षा, स्वास्थ्य र औद्योगिक विकासका क्षेत्रमा लगानीका स्वर्णीम अवसर प्रदान गर्छ ।’

अध्यक्ष राउतले कोशी प्रदेश सरकारले आयोजना गर्दै गरेको लगानी सम्मेलन कोशीको आर्थिक पुनरोत्थान र यस प्रदेशलाई विश्व बजारसँग जोड्ने ऐतिहासिक अवसर सावित हुने विश्वास व्यक्त गरेका हुन् । ‘कोशी प्रदेशको आर्थिक अवस्था सुदृढका साथै सम्भावनायुक्त रहेको र राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुसार आर्थिक बर्ष २०८०⁄८१ मा कोशी प्रदेशले नेपालको कुल गार्हस्थ्य उत्पादनमा १५.८४% योगदान पुर्याएको छ,’ उनले भने, ‘सो आर्थिक बर्षमा प्रदेशको अर्थतन्त्र मौद्रिक मुल्यमा रु. ९ खर्ब ३ अर्ब बराबर रहेको अनुमान छ । आर्थिक वृद्धिदर ३.५१% पुगेर अघिल्लो वर्षको २.१३% बाट सुधार भएको छ । प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको ३३.२%, उद्योगको १५.९%, र सेवाको ५०.९% योगदानले कोशीको विविधतापूर्ण अर्थतन्त्रलाई झल्काउँछ । नेपालको समग्र अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान करिव दुई तिहाई पुग्न लागेको सन्दर्भमा कोशी प्रदेशको अर्थतन्त्रमा भने करिव आधा हिस्सा उत्पादन मुलक क्षेत्रको योगदान रहनुलाई प्रदेशको अर्थतन्त्रको विशिष्ठताका रुपमा लिन सकिन्छ । कोशीले नेपालको ९२% चिया, र ७२% अलैंची उत्पादन गर्छ ।’ 

कोशी प्रदेशमा कृषिमा चिया, कफी, जुट, अलैंची, सुपाडी, अम्लेसो, धान, मकै, तरकारी, एभोकाडो, र किवीको व्यावसायीकरणले रोजगारी बढाउन र स्थानीय अर्थतन्त्र सुधार गर्न सक्ने राउतको भनाइ थियो । ‘आधुनिक प्रविधि, सामूहिक खेती, सिँचाइ, र कोल्ड स्टोरेजको थप विकास र विस्तारले उत्पादकत्व बढाउन सकिन्छ,’ उनले भने, ‘पर्यटनमा साहसिक, धार्मिक, र प्राकृतिक र कृषि पर्यटनका गन्तव्यहरूले आर्थिक गतिविधि विस्तार गर्न सक्छन् । बिराटनगर र धरानका  आंखा,अस्पताल, मेडिकल कलेज, र विश्वविद्यालयहरूले भारतीय र विदेशी ग्राहकबाट विदेशी मुद्रा आर्जन गरिरहेका छन् । यसले शिक्षा र स्वास्थ्यलाई लगानीको क्षेत्रका रुपमा प्रमाणीत गरेको मात्र नभई पर्यटनको नयाँ क्षेत्र समेत उजागर गरेको छ । कोशीका जंगलमा पाइने जडीबुटीबाट आयुर्वेदिक औषधि उत्पादन र निर्यातमा ठूलो सम्भावना छ ।’

उल्लिखित सम्भावनाका बावजुद कोशी प्रदेशमा लगानी चुनौती रहित भने नभएको उनको भनाइ थियो । ‘औसत उर्जाको उपलब्धता र गुणस्तर, यातायात र ढुवानीका कमजोर पूर्वाधार, भारतको विहारमा उत्पादन हुने कृषि र गैर कृषि उत्पादनको न्यून लागतका कारण भारतीय बस्तुको उच्च प्रतिस्पर्धी क्षमता, प्रविधी, पुर्वाधार र दक्ष जनशक्तिको अपर्याप्तताका कारण स्थानीय उत्पादनको कमजोर प्रतिस्पर्धी क्षमता जस्ता विषय मुलतः कृषि र उद्योग क्षेत्रको प्रमूख चुनौतीका रुपमा रहेका छन्,’ उनले भने, ‘उद्योगीहरूले व्यवसाय दर्ता, राजस्व भुक्तानी, र कच्चा पदार्थ आयातमा प्रशासनिक ढिलाइको अनुभव गरेका छन् । युवा पलायनले खोटाङ, भोजपुर, र तेह्रथुममा ऋणात्मक जनसङ्ख्या वृद्धिदर देखिएको छ, जसले दक्ष र अदक्ष कामदारको अभाव निम्त्याएको छ । खुला सिमाका कारण भएको अनौपचारिक आयातले स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक  थप क्षमता घटाएको छ । अवैध पैठारीका कारण  स्वदेशी उद्योगको उत्पादन लागत महंगो हुन गई उत्पादन पनि बढ्न सकेको छैन । औद्योगिक जमिनको उच्च मूल्य र उपलब्धताको कमीले ठूला परियोजनाहरू सञ्चालनका लागि अतिरिक्त लगानी गर्नुपर्ने अवस्था छ । हामीले विगत कैयौं वर्षदेखि  माग गर्दै आएको विशेष आर्थिक  क्षेत्र र प्रदर्शनी स्थलका सम्वन्धमा सुनवाई हुन सकेको छैन । पर्यटन क्षेत्रमा प्रतिस्पर्धी, गुणस्तरीय, पारदर्शी र विश्वसनीय हुन नसक्दा पर्यटन क्षेत्रको विकास सुस्त छ ।’

अन्तरसंवादमा भोजराज पौडेलले प्रदेशमा लगानीका संभावना, अवसर र चुनौतीको विषयमा प्रस्तुति दिएका थिए । चिया संघका आदित्य पराजुलीले ब्यापर घाटा कम गर्ने प्रमुख क्षेत्र चियाको उत्पादन, प्रशोधन र बजारीकरणमा सरकारी ध्यान पुग्न नसकेको गुनासो पोखेका छन् । उनले अहिले १० अर्बको चिया उत्पादन भइरहेको र यसको उत्पादन बढ्दो अवस्थामा रहेको र त्यसमध्ये ६ अर्बको निर्यात भइरहेको बताएका हुन् । उनले चियालाई एग्रो इण्डस्ट्रिजको रुपमा विकास गर्न, समयमा कृषि मलको आपूर्ति, सिँचाइमा अनुदान, ब्राण्डिङ र बजारीकरणमा सरकारको लगानी अपरिहार्य रहेको बताए । 

नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष चन्द्र भण्डारीले कोशी प्रदेशमा लगानीको अपरा सम्भावना रहेकोले लगानी सम्मेलनमार्फत लगानीको वातावरण बन्ने विश्वास व्यक्त गरेका छन् । 

कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धब थापाले प्रदेशलाई आत्मनिर्भर बनाउन लगानी सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लगानीमैत्री वातावरण निर्माणका लागि ७ वटा कानून संशोधनको तयारी गरेको जानकारी गराएका हुन् । 

प्रकाशित : १२ वैशाख २०८२, शुक्रबार 18:21
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved