१३ वैशाख २०८२, शनिबार 26 Apr 2025, Saturday

सेयर तालिमका लागि सफ्टवेयर डाउनलोड गरेपछि दुईजनाको खाताबाट ३० लाख रुपैयाँ चोरी

द नेप्लिज संवाददाता
१२ वैशाख २०८२, शुक्रबार

Advertisement

काठमाडौँ — ‘बिजनेस टेक नेपाल’ नामक फेसबुक पेजमा उल्लेख गरिएको थियो – ‘आफ्नो ल्यापटप–कम्प्युटरबाट सेयर बजारमा अनुभवी ट्रेडर्सबाट निःशुल्क ट्रेडिङ सिक्नुहोस् ।’ यही प्रचारप्रति आकर्षित भएका एक सेयर लगानीकर्ता अनलाइन सन्देशमार्फत तालिम लिन इच्छुक भए ।

पेजले सुझाएकोअनुसार उनी ‘नेपएक्सपर्ट डट एक्सवाइजेट’ नामक साइटमा गए र त्यहाँबाट एक सफ्टवेयर डाउनलोड गरे । तर भोलिपल्ट उनको बैंक खाताबाट १० लाख रुपैयाँ गायब भयो । त्यही ल्यापटप प्रयोग गरी अर्को दिन ‘कनेक्ट आइपिएस’ चलाउँदा उनकै कम्पनीका अर्का एक व्यक्तिको खाताबाट समेत २० लाख रुपैयाँ चोरी भएको पत्ता लाग्यो ।

प्रहरीका अनुसार सेयर कारोबार तालिमको नाममा गरिएको यस्तो अनलाइन फिसिङमार्फत धेरै लगानीकर्ताका खाताबाट पैसा चोरी हुन थालेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार हालै मात्र ‘निःशुल्क सेयर कारोबार तालिम’ भन्दै नयाँ शैलीमा ठगी गरिएका उजुरीहरू आएको छ । यसबारे गम्भीर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार पीडितलाई सेयर तालिमका लागि भनिएको सफ्टवेयर डाउनलोड गर्न लगाइन्थ्यो, जसमार्फत ठगहरूले सम्बन्धित कम्प्युटर वा ल्यापटपमा पहुँच बनाइ खाताबाट रकम चोरी गर्थे । अपराध अनुसन्धान कार्यालयका अनुसार ‘स्क्रिन कनेक्ट’ जस्ता टुलमार्फत ठगहरूले पीडितको डिभाइसमा सीधा पहुँच बनाए । कतिपयमा भीपीएनको प्रयोग भएको छ, कतिपयमा त पीडितकै डिभाइसबाट रकम ट्रान्सफर भएको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फेसबुकमा यस्ता फर्जी सेयर तालिम पेजहरू धेरै सञ्चालनमा छन् । तीमध्ये कतिपय पेजमा सम्पर्क नम्बरसमेत छैन । तर सर्वसाधारण विश्वासमा परी लिंक क्लिक गर्दा ठगीमा परेका छन्।

‘सेयर कारोबारमा संलग्न व्यक्तिसँग ठूलो रकम हुने भएकाले ठगहरूको मुख्य निशाना त्यही समूह बनेको देखिन्छ,’ एक प्रहरी अधिकारी भन्छन् । प्रहरीका अनुसार चोरी गरिएको रकम विभिन्न बैंक खातामा पठाइएको छ । ती खाताका मालिकहरूले उक्त पैसा विदेशमा रहेका आफन्तबाट हुन्डीमार्फत आएको बताएको पाइएको छ ।

यस आधारमा प्रहरीको आशंका छ कि ठगीमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता हुन सक्छ । हुन्डीको नाममा अवैध कारोबारमा संलग्न भएका खाताधनीहरूलाई पनि अनुसन्धानको दायरामा ल्याइएको छ ।

तर मुख्य योजनाकारसम्म प्रहरी अझै पुग्न सकेको छैन । ठगहरूले ‘भिपिएन’ प्रयोग गरेकाले पहिचान गर्न कठिन भइरहेको प्रहरीको भनाइ छ । अनुसन्धानको प्रक्रिया अघि बढाउन इन्टरपोल र फेसबुकसँग पनि सहयोग माग्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसबारे कतिपय पीडितले साइबर ब्युरोमा उजुरी दिएका छन् । ब्युरोका अनुसार नयाँ शैलीको फिसिङ ठगी बढ्दै गएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ । सेयर तालिमका नाममा लिंक पठाएर बैंक खाताबाट रकम चोरी गर्ने प्रयास भइरहेको ब्युरोले जनाएको छ । ब्युरोका अनुसार यस्ता अनलाइन लिंक वा सफ्टवेयर डाउनलोड गर्दा सावधानी अपनाउन आवश्यक छ ।
 

प्रकाशित : १२ वैशाख २०८२, शुक्रबार 23:24
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved