१४ वैशाख २०८२, आइतबार 27 Apr 2025, Sunday

मातातीर्थ औँसी : आमाप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने विशेष दिन

द नेप्लिज संवाददाता
१४ वैशाख २०८२, आइतबार

Advertisement

विराटनगर– जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मान प्रकट गर्दै आज देशभर मातातीर्थ औँसी पर्व मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वलाई ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने औँसी’ भनेर पनि चिनिन्छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् डा. वासुदेव कोइरालाका अनुसार यस दिन बिहानै स्नान गरी आमालाई मिष्ठान्न खुवाउने, उपहार प्रदान गर्ने र आशिर्वाद लिने परम्परा रहेको छ । आमाको देहावसान भइसकेकाहरूले भने श्राद्ध गरी आमाप्रति श्रद्धाञ्जली अर्पण गर्ने चलन छ ।

डा. कोइरालाका अनुसार शास्त्रमा जन्मदिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा ठूलो भनिएको छ । त्यसैले आमाप्रति श्रद्धाभाव व्यक्त गर्दै यो पर्वलाई विशेष महत्वका साथ मनाइन्छ । घरबाट टाढा रहेकाहरू आमाको मुख हेर्न घर फर्कने वा टेलिफोनमार्फत आमासँग संवाद गरी श्रद्धा प्रकट गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा आमाको तस्बिर सेयर गर्दै सम्मान व्यक्त गर्ने चलन पनि बढ्दो छ ।

यस अवसरमा काठमाडौँको थानकोटस्थित मातातीर्थमा दिवंगत आमाको सम्झनामा मेला लागेको छ । आज बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । केही भक्तजन शनिबार साँझ नै दीप प्रज्वलन गरी जाग्राम बसेका थिए । उनीहरूले बिहानै स्नान गरी हरिहर (विष्णु र शिव)को पूजा गरेका छन् ।

स्थानीय विश्वासअनुसार मातातीर्थस्थित पवित्र कुण्डमा स्नान र पूजा गरेमा दिवंगत आमाप्रति रहने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ । आमा गुमाएका सन्तानले सके हरेक वर्ष, नसके कम्तीमा एकपटक मातातीर्थ औँसीको अवसरमा त्यहाँ पुगेर श्रद्धा अर्पण गर्नु पर्ने धार्मिक मान्यता छ ।

मातातीर्थ औँसीका अवसरमा चन्द्रागिरि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । यस्तै भक्तपुरका नेवार समुदायले पनि आजको दिन हनुमानघाटमा गइ दिवंगत आमाको सम्झनामा श्राद्ध र तर्पण गर्ने परम्परा निर्वाह गर्दै आएका छन् । मातातीर्थ औँसीजस्तै अन्तर्राष्ट्रिय रूपमा मे महिनाको दोस्रो आइतबार ‘मदर्स डे’ मनाउने चलन पनि छ । तर नेपालमा पुरानो परम्पराअनुसार वैशाख कृष्ण औँसीकै दिन आमाप्रति श्रद्धा व्यक्त गरिन्छ ।
 

प्रकाशित : १४ वैशाख २०८२, आइतबार 06:45
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved