१३ वैशाख २०८२, शनिबार 26 Apr 2025, Saturday

भाटभटेनीमा रक्सी लुट्ने कांग्रेसका एक नेताका छोरालाई प्रहरीले छाडेको संसदमा खुलासा

द नेप्लिज संवाददाता
१२ वैशाख २०८२, शुक्रबार

Advertisement

काठमाडौँ –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा चैत १५ मा भएको लुटपाट घटनामा नेपाली कांग्रेसका एक सहमहामन्त्रीका छोरा संलग्न रहेको खुलासा गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले घटनापछि कांग्रेस नेताका छोरासँग अन्य एक  जना पक्राउ परे पनि पछि उनीहरूलाई छाडिएको आफूसँग प्रमाण भएको बताए । उनले भने, ‘हामीसँग रेकर्ड छ, गृहमन्त्रीज्यू ! भाटभटेनीको लुटपाटमा तपाईंको पार्टीका सहमहामन्त्रीका छोरा पक्राउ पर्नुभा’ छ । किन तुरुन्तै छोड्नुभयो ?’

उनका अनुसार सो घटनामा संलग्न नेताका छोराले रक्सी लिएर गएका थिए भने उनीसँगै गएका अर्का व्यक्तिले कपडा लिएको बताइएको छ । पक्राउपछि नेताका छोरालाई तुरुन्तै छाडिएको र पछि अर्का युवकलाई पनि ‘यदि नछाडे भने यो कुरा सार्वजनिक गरिदिन्छु“ भन्ने धम्की दिएपछि दुई घण्टाभित्रै रिहा गरिएको उनले संसदमा जानकारी दिए ।

लिङ्देनका अनुसार प्रहरीले भिडियोका आधारमा पक्राउ गरेको भए पनि नेताका छोरा भएको थाहा पाएपछि उनीहरूलाई विशेष व्यवहार गरिएको आरोप लगाए । कांग्रेसमा फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार सह-महामन्त्री छन्।

उनले लोकतन्त्रको नाममा हुने यस्तो ‘निरंकुशता’ प्रति आपत्ति जनाउँदै सत्ता पक्षको दुरुपयोगविरुद्ध संघर्ष जारी रहने चेतावनीसमेत दिए । सरकार र दलहरूले चैत १५ गते तीनकुनेमा भएको राजसंस्था पक्षधरको प्रदर्शनलाई ‘हिंसात्मक प्रदर्शन’को नाम दिएकोप्रति पनि उनले आपत्ति जनाए।

यदि त्यो हिंसात्मक प्रदर्शन थियो भने आन्दोलनकारीबाट एउटा लाठीसमेत किन बरामद भएन? भन्दै उनले गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरे।

उनले गृहमन्त्री लेखकलाई सोधे, ‘तपाईंहरूले एउटा भाष्य निर्माण गरिरहनुभएको छ, राजावादीको हिंसात्मक प्रदर्शन भनेर भनिन्छ। त्यो हिंसात्मक प्रदर्शन थियो भने, त्यो सुनियोजित रुपमा हिंसात्मक क्रियाकलापका लागि थियो भने आजसम्म तपाईंहरूले प्रदर्शनकारीहरूबाट एउटा लाठीसम्म किन पक्रन सक्नुभएन?’

उनले तीनकुनेमा ७४६ राउण्ड अश्रुग्यास र २५० राउण्डभन्दा बढी गोली चलेको भन्दै प्रश्न गरे,’७४६  राउण्ड अश्रुग्यास चल्यो। अझै त्योभन्दा बेसी थियो भनेर भनिन्छ। त्यो पनि म्याद सकिएको अश्रुग्यास। त्यो के दुर्गा प्रसाईंले, रवीन्द्र मिश्रले र धवल शमशेरहरूले चलाएको हो? प्रदर्शनकारीहरूले चलाएको? विभिन्न तहका गोलीहरू २५० राउण्डभन्दा बेसी त्यहाँ प्रहर गरिएको छ। त्यो कति राउण्ड प्रदर्शनकारीबाट भएको हो?’

यस्तै, उनले घर छिर्दै गरेका रेविका खत्रीका दाजुबहिनीमाथि गोली प्रहार र घर फर्किँदै गरेका सविन महर्जनलाई कसले मारेको हो? भन्दै गृहमन्त्री लेखकलाई प्रश्न गरे।

‘घरको ढोकाबाट छिर्दै गरेको, प्रदर्शन क्षेत्रबाट कैयौँ किलोमिटर पर र प्रदर्शनसँग कुनै सम्बन्ध नरहेका रेविका खत्री र उसको दाजुलाई कसले गोली हानेको हो? र घर फर्किँदै गरेका सविन महर्जनलाई कसले मारेको हो?,’ उनले सोधे।

यदि सरकार प्रजातन्त्रको पक्षमा छ भने रवीन्द्र मिश्रलगायतलाई रिहा गर्न उनले आग्रह गरे। उनले भने, ‘म गृहमन्त्री ज्यूलाई भन्न चाहन्छु, तपाईं प्रजातन्त्रको पक्षमा हुनुहुन्छ, न्यायको पक्षमा हुनुहुन्छ भने रवीन्द्र मिश्रलगायतका मानिसहरूलाई छाड्नुस्। र न्यायकि आयोग गठन गरेर सत्यतथ्य बाहिर ल्याउनुस्।’

प्रकाशित : १२ वैशाख २०८२, शुक्रबार 16:27
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved