३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

कोशी सरकारले पर्यटनको आधार तयार पार्दै

Advertisement

विराटनगर– प्रदेश सरकारले कोशी प्रदेश पर्यटन वर्ष २०८२ शुभारम्भ गरेर पर्यटनको आधार तयार पार्न सुरु गरेको छ । यस प्रदेशमा आउने पर्यटकहरुले झेल्दै आएको समस्याहरुको समाधानमा प्रदेश सरकार जुटेको हो । 

भारतबाट पर्यटक बोकेर आउने सवारी साधन गन्तव्यसम्म पुगेर फर्किदासम्म बाटोभरि प्रहरीले रोक्दै अनेक बहानामा अबैध रकम असुल्दै आएको पर्यटन व्यवसायीहरुको गुनासो छ । उनीहरुको गुनासो सम्बोधनका लागि प्रदेश सरकारले सुनसरीको भण्टाबारी, मोरङको रानी, झापाको काँकड्भिट्टा, इलामको पशुपतिनगर नाकाबाट आउने भारतीय पर्यटक बोकेको सवारी साधनमा सुरक्षा जाँच स्टिकर टाँस्ने व्यवस्था गरेको छ । 

नाकामा सुरक्षा जाँच स्टिकर टाँसिसकेपछि नफर्कुञ्जेल र कानुन विपरितको काम नगरेसम्म बाटोमा प्रहरीले रोक्न नपाउने प्रदेश सरकारले व्यवस्था गरेको छ । पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले भारतीय पर्यटक बोकेको सवारीले झेल्दै आएको समस्या सुरक्षा जाँच स्टिकरले समाधान गर्ने विश्वास व्यक्त गरेको छ । 

‘प्रदेश सरकारले पर्यटन वर्ष २०८२ घोषणा गरेर पर्यटनको आधार वर्षको रुपमा यो वर्षभरि सडक, सुरक्षाकर्मी, होटल व्यवसायीलगायतको व्यवहारमा सुधारका साथै पर्यटकीय गन्तव्यहरुको खोजी जस्ता संरचनात्मक सुधार गर्छ,’ उनले भने, ‘प्रदेश सरकारको नीति अतिथि देवो भवः लाई सुरक्षाकर्मी, कर्मचारी, होटल व्यवसायीलगायत समग्र प्रदेशवासीले आत्मसात गरेर पर्यटक भित्र्याउन सबैले मद्दत गर्नुपर्छ ।’

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेर पर्यटनको आधार तयार पार्न सबै किसिमका सुधारका काम सुरु गरिसकेकोले यस अभियानमा सबैलाई सहयोग गर्न आह्वान् गरेका छन् । 

‘कोशी प्रदेशमा आउने पर्यटकलाई असुबिधा हुने र कुनैकिसिमको समस्यामा पार्ने काम कसै र कत्तैबाट हुनुहुँदैन,’ उनले भने, ‘हाम्रो सुरक्षाकर्मीको व्यवहारमा सुधार हुनु आवश्यक छ र त्यसका लागि सुरक्षा जाँच स्टिकरले सुधार ल्याउँछ ।’ पर्यटन क्षेत्रको सुधारका लागि यस वर्ष गर्नुपर्ने सबै काम गरेर धेरै भन्दा धेरै पर्यटक भित्र्याएर व्यवसाय प्रवर्द्धन, रोजगारी सिर्जना गर्दै राष्ट्रिय पूँजी निर्माण गर्ने लक्ष्य रहेको मुख्यमन्त्री कार्कीले बताए । 

कोशी प्रदेश सरकारले कोशी प्रदेश पयर्टन वर्ष २०८२ तेह्रथुमको बसन्तपुरस्थित आरआरगार्डेनमा बुधबार शुभारम्भ गरेको छ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पानसमा दियो बालेर पर्यटन वर्षको शुभारम्भ गरेका हुन् ।

‘कोशीको गौरब, हिमालको शान, पर्यटन वर्षमा सबैको सम्मान’ नारासहित शुभारम्भ भएको पर्यटन वर्षको मस्कट र लोगो सार्वजनिक गरेर प्रदेश सरकारले पर्यटन वर्ष शुभारम्भ गरेको हो । 

पर्यटन वर्षमा पर्यटक भित्र्याउने आधार वर्षको रूपमा काम गर्दै पर्यटकीय गन्तव्य, सडक, प्रहरीको व्यवहारमा परिवर्तन, होटललगायतको क्षेत्रमा सुधार गर्दै धेरै भन्दा धेरै पर्यटक भित्र्र्याएर राष्ट्रिय पूँजीको निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य छ ।

कोशी प्रदेश विश्वका अग्ला हिमाल, लालिगुराँस, रमणीय प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थल, हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूको आस्थाका केन्द्र हलेसी महादेव, पाथिभारा, धर्तिको पहिलो भगवान बराह क्षेत्र, तराई, पहाड र हिमाल समेटिएको धार्मिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण छ । ४ वटा पाँच तारे होटल सञ्चालनमा रहेको र थप ४ वटा सञ्चालनमा आउने तयारीमा रहेको र १ सय ४ वटा होमस्टे दर्ता भई सञ्चालनमा रहेको छ ।

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कोशी प्रदेश सरकारले घोषणा गरेको ‘कोशी पर्यटन वर्ष २०८२’ले नेपालको समग्र अर्थतन्त्रलाई सकारात्मक दिशा दिने बताएका छन् । 

कोशी सरकारले सुरु गरेको ‘कोशी पर्यटन वर्ष २०८२’ को अबसरमा भारतीय पर्यटकलाई लक्षित गरी विदेशी सवारी साधनको अस्थायी रुट इजाजत पत्र तथा सुरक्षा जाँच कार्ड स्टिकर विराटनगरस्थित रानी नाकाबाट शुक्रबार शुभारम्भ गरेको छ । 

प्रकाशित : ३१ चैत २०८१, आइतबार 06:18
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved