६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

कहाँ छिन् नेपाली कांग्रेसकी सांसद माया राई ?

द नेप्लिज संवाददाता
४ वैशाख २०८२, बिहीबार

Advertisement

काठमाडौँ — नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई आठ महिनादेखि संसद् तथा संसदीय समितिको कुनै बैठकमा देखिएकी छैनन् । उनी गत भदौको पहिलो सातामा प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठकमा सहभागी भएको अन्तिमपटक देखिएकी थिइन् । त्यसयता संसद्को हिउँदे अधिवेशनका २७ वटै बैठकमा अनुपस्थित रहँदा पनि उनीबारे संसदमा कुनै आधिकारिक सूचना प्रस्तुत भएको छैन ।

प्रतिनिधिसभा नियमावलीअनुसार लगातार १० बैठक अनुपस्थित हुने सांसदले सभामुखमार्फत सदनमा सूचना दिनुपर्ने व्यवस्था छ ।  राईले भने अनुपस्थितिको सूचना नदिएकाले चैत १९ मा सभामुखले प्रस्तुत गरेको अनुपस्थित सांसदहरूको सूचीमा उनको नाम थिएन । अधिवेशन सकिएको भोलिपल्ट मात्र कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका स्वकीय सचिवमार्फत अनुपस्थितिको निवेदन संसद सचिवालयमा पुगेको थियो जसमा उनी ‘स्वास्थ्य उपचार’मा रहेको जनाइएको छ । तर यो निवेदन सदनमा पेश हुन सकेन ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अनुपस्थितिको सूचना प्राप्त भए पनि त्यसको प्रक्रिया र मान्यताको विषयमा सचिवालय भित्र अनौपचारिक छलफल जारी छ । उनका अनुसार कुनै पनि सांसदले अनुपस्थित हुने भए अग्रिम सूचना दिनुपर्ने दायित्व स्वयं सांसदको हो । काबु बाहिरको अवस्थाको कारण भएपछि पनि जानकारी दिन मिल्ने प्रचलन छ ।

राईको लगातार अनुपस्थितिपछि अब उनको सांसद पदको वैधता कायम रहन्छ या हुँदैन भन्ने प्रश्न उब्जिएको छ । नेपालको संविधानको धारा ८९ (घ) अनुसार संसदलाई सूचना नदिइ लगातार १० बैठक अनुपस्थित रहेमा सांसद पद स्वतः रिक्त हुने व्यवस्था छ ।

यता सांसद राईको गैरहाजिरीबीच पनि उनी संसद्को सम्पूर्ण सेवा–सुविधा लिइरहेकी छन् । सांसदले मासिक ७२ हजार ७० रुपैयाँ पारिश्रमिक र सुविधा पाउँछन् भने काठमाडौंमा घर नभएकालाई मासिक १८ हजार रुपैयाँ आवास सुविधा पनि प्रदान गरिन्छ । बैठक भत्ता, यात्रा खर्च, उपचार सुविधा लगायत सबै सुविधा लिइरहेकी राईको तलब हालसम्म रोकिएको छैन ।

सहकारी हिनामिना प्रकरणमा संलग्नताको आरोप
माया राईमाथि काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड रुपैयाँ हिनामिनामा संलग्न भएको आरोप लागेको छ । उनी आर्थिक वर्ष २०७३÷७४ देखि २०७५÷७६ सम्म सहकारीको सञ्चालक समितिमा थिइन् । यस प्रकरणमा प्रहरीले केही आरोपितहरूविरुद्ध पुसमा जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ भने अन्यको अनुसन्धान जारी छ ।

सहकारी घोटालासँग जोडिएको आरोप सार्वजनिक भएपछि राई कुनै सार्वजनिक कार्यक्रममा समेत देखिएकी छैनन् । यसै कारण उनी फरार रहेको अनुमान गरिँदै आएको छ । सत्ता गठबन्धनमा मुख्य दल नेपाली कांग्रेसकी सांसद भएकै कारण उनलाई राजनीतिक संरक्षण दिइएको आशंका पनि उठाइएको छ ।

राजनीतिक पृष्ठभूमि
४६ वर्षीया माया राई २०४९ सालदेखि राजनीतिमा सक्रिय छिन् । उनी नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघबाट राजनीतिमा प्रवेश गरेकी थिइन् । विभिन्न पद हुँदै कांग्रेसको १४औं महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन् । २०७९ सालको निर्वाचनमा समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सदस्य बनेकी उनी पार्टी सभापति शेरबहादुर देउवा समूहमा निकट मानिन्छिन् ।

अघिल्लो अधिवेशनको अनुपस्थितिको सूचना नयाँ अधिवेशनमा पेस गर्न मिल्छ ?

संसद सचिवालयले स्पष्ट मापदण्ड नदिएको कारण अब वैशाख १२ गतेबाट सुरु हुने नयाँ अधिवेशनमा अघिल्लो अधिवेशनको अनुपस्थितिको सूचना प्रस्तुत गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा प्रष्टता छैन । प्रवक्ता गिरीका अनुसार छुटफुटमा सूचना आउने गरेका छन् तर सूचना कति दिनभित्र पेश गर्नुपर्छ भन्ने विषय नियममा स्पष्ट छैन ।

माया राईको निरन्तर अनुपस्थितिलाई लिएर राजनीतिक, कानुनी र नैतिक सवाल उठिरहेका छन् । अबको निर्णयले उनी सांसद पदमा रहन्छिन् कि पद स्वतः रिक्त हुन्छ भन्ने निर्धारण हुनेछ ।
 

प्रकाशित : ४ वैशाख २०८२, बिहीबार 21:46
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved