१७ वैशाख २०८२, बुधबार 30 Apr 2025, Wednesday

प्राविधिक सहयोग मागेको सरकारले कृषि औजार कारखाना चलाउन आविष्कार केन्द्रलाई फसायो : महावीर पुन

कृषि औजार कारखाना रिसको झोकमा चलाउने भनिदिएको बोलेको पूरा गर्न किताब बेच्दै पुन

Advertisement

विराटनगर– राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुनले वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि किताब बिक्री गर्दै हिडिरेका छन् । पुनले कृषि औजार कारखाना सञ्चालन गर्न प्राविधिक सहयोग मागेका नेपाल सरकारले कारखाना चलाउन राष्ट्रिय आविस्कार केन्द्रलाई फसाएको आरोप लगाएका हुन् । प्राविधिक सहयोगका लागि सम्झौता गरेर कृषि औजार कारखानामा मर्मत कार्य सुरु गरेको केही महिनामा सरकारले सरकारबाट नै १० प्रतिशत ब्याज दरमा ऋण लिएर कारखाना चलाउनुपर्ने सर्त अघि सारेको पुनले बताएका छन् । सरकारले बोली फेरेको रीसको झोकमा कारखाना चलाउने जिम्मा लिने भनिदिएका पुनले बोलेको कुरा पूरा गर्नुपर्छ भनेर अहिले कारखाना चलाउन आवश्यक रकम जुटाउन आफैले लेखेको आत्मवृतान्त किताब बिक्री गर्दै हिडेका हुन् । 

नेपाल औषधी व्यवसायी संघ मोरङले बुधबार विराटनगरमा सम्मान गरेपछि पुनले राष्ट्रिय आविष्कार केन्द्र देशका प्रतिभाहरुलाई अनुसन्धानका साथै आविष्कार गर्ने अवसर प्रदान गर्नका लागि स्थापना गरेर सञ्चालनमा ल्याएको बताएका छन् । ‘नयाँ अवधारणाको बारेमा अनुसन्धान गरी समाजका लागि योगदान गर्न आविष्कार गर्नेलाई नेपालमा सहयोग गर्ने कुनैपनि व्यवस्था नभएको अवस्थामा आविष्कार केन्द्र स्थापना गरेर त्यसता प्रतिभाहरुलाई अवसर प्रदान गरिरहेका छौं,’ उनले भने, ‘आविष्कार केन्द्रले प्रतिभाशाली नेपाली युवाहरुलाई सेवा गरिरहेको छ ।’ 

विदेश पलायन भइसकेका प्रतिभावना नेपाली युवाहरुलाई नेपाल फर्केर अध्ययन, अनुसन्धान र आविष्कारमा जुट्न महावीर पुनले आह्वान गरेका हुन् । ‘त्रिभुवन विश्वविद्यालयभित्र सञ्चालनमा रहेको आविष्कार केन्द्र सरकारी खर्चमा चलिरहेको भन्ने भ्रम हुने गरेको छ,’ उनले भने, ‘आविष्कार केन्द्रमा सरकारको कुनै किसिमको लगानी नभएको र यो नेपाली जनताको सहयोगमा सञ्चालन भइरहेको संस्था हो ।’ 

आविस्कार केन्द्रलाई नेपाल सरकारले झुक्याएर वीरगञ्जको कृषि औजार कारखानामा फसाएको पुनको आरोप छ । ‘अर्थ मन्त्रालयले वीरगञ्चको कृषि औजार कारखाना सञ्चालन गर्न प्राविधिक सहयोग गर्न आग्रह गर्यो,’ उनले भने, ‘कारखाना मर्मत सम्भार गरी प्राविधिक सहयोग गरिदिने जिम्मेबारी आविष्कार केन्द्रको हुने भन्दै मन्त्रालयले सम्झौता गर्यो । मर्मत सम्भार र नयाँ मेसिन खरिदका लागि आवश्यक रकम सरकारले दिने सम्झौता पत्रमा उल्लेख छ । तर पछि सरकारले कुरो बदल्यो ।’

कारखानामा मर्मत सम्भारको काम सुरु गरेको केही महिनापछि सरकारले कारखाना आविष्कार केन्द्रले सरकारबाट १० प्रतिशत ब्याजमा ऋण लिएर सञ्चालन गरिदिनुपर्ने भन्दै फसाएको पुनको आरोप छ । ‘हामीले व्यवसायिक रुपमा कारखाना चलाउनलाई नभई प्राविधिक सहयोग दिने सर्तमा मात्रै जिम्मा लिएका थियौँ,’ उनले भने, ‘तर सरकारले ऋण लिने भन्यो । हामी व्यवसायी, उद्योगी भएको भए ऋण लिएर कारखाना चलाउने थियौँ तर हामी व्यवसायी उद्योगी नभएको र जीवनमा कहिले पनि ऋण नलिएकोले डरायौँ । ऋण तिर्न नसकेपछि जेला जानुपर्ने र बदनाम हुने भएको हुँदा हामीले सरकारलाई ऋण नलिने तर कारखानाको जिम्मा लिइसकेकोले कुनै अन्य तरिकाले पैसा खोजेर सरकारका लागि सञ्चालन गरिदिने र त्यसको नाफा सरकारलाई नै दिने रीसको झोकमा भनिदियौँ ।’

रीसको झोकमा भने पनि भनेको कुरा पूरा गर्नुपर्ने भएकोले कारखाना चलाउन विभिन्न उपायको खोजीमा लागेको पुनले बताए । ‘कारखाना चलाउन पैसाको कुनै उपाय नलागेपछि किताब लेखेर बिक्री गरी कारखाना चलाउने निधो गरेर अघि बढ्यौँ,’ उनले भने, ‘सुरुमा कसैलाई विश्वास थिएन र आफूलाई पनि किताब बेचेर कारखाना चलाउन सकिने विश्वास थिएन । तर हामीले अनुमान लगायौँ कि नेपालमा रहेको तीन करोड जनसंख्याको १ प्रतिशत तीन लाख जनाले किताब किनिदिए खर्च कटाएर २० लाख जति आमदानी हुने र त्यसबाट कारखाना चलाउन सकिन्छ ।’

त्यसपछि आफ्नै जीवन वृतान्त लेखेर किताब छाएपछि अहिले किताब बिक्री अभियानमा रहेको पुनले सुनाए । ‘पश्चिमबाट किताब बिक्री सुरु गरेर बुधबार ३९० औँ दिन भएको र ४१ जिल्लामा किताब बेचेर ४२ औँ जिल्ला मोरङमा बिक्री गरिरहेको र आजको दिनसम्ममा १ लाख ९० हजार किताब बेचिसकेका छौँ,’ उनले भने, ‘अब ३५ वटा जिल्ला जान बाँकी रहेको र अझै ६ महिनामा तीन लाख किताब बिक्ने देखिन्छ ।’

यता आफूले किताब बेच्दै हिडेको छु भने उता इञ्जिनियरहरुले कारखाना पनि चलाइरहेको पुनले जानकारी दिए । ‘एक वर्ष लगाएर अधिकांश मेसिनहरु मर्मत गरिसकेको र तीन करोड लागतमा नयाँ मेसिनहरु पनि खरिद गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘अहिलेसम्ममा साना किसानले उपयोग गर्ने १५ किसिमका साना कृषि औजारहरु परीक्षणमा रहेको र अब व्यवसायिक उत्पादनमा जाने तयारी गरेका छौं ।’

अहिले नै हामीले ठूला कृषि औजारहरु ट्याक्टर, हार्भेस्टरलगायत बनाउन नसक्ने र पछि मात्रै त्यो गर्न सकिने उनको भनाइ थियो । उनले कृषि औजार कारखानासँगै, आविष्कार केन्द्र र पोखरामा आईसीटी इनोभेशन ल्याब पनि सञ्चालनमा ल्याएर आईसीटीसम्बन्धी इनोभेशनको काम भइरहेको सुनाए । 

म्याग्दी जिल्लाको नाङ्गी गाउँमा सन् १९५५ मा जन्मेका महावीर पुनले अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर गरेको र पछि उनलाई त्यही विश्वविद्यालयले माननार्थ विद्यावारिधीको उपाधी समेत दिएको छ । अमेरिकाबाट गाउँ फर्केपछि पुनले दिगो शिक्षाको आवश्यक्ता महशुस गरी हिमाञ्चल उच्च मावी स्थापना गरेर सामाजिक अभियान सुरु गरेका थिए । उनले कम्प्युटर शिक्षा र आय स्रोत वृधिलाई प्राथमिकतामा राखेर सामाजिक अभियानमा लागेका थिए । त्यही क्रममा उनले ताररहित इन्टरनेट सेवा दुर्गम गाउँ गाउँमा पुर्याउने अभियान थालेका थिए । 

सन् २००१ मा बीबीसीले पुनले चलाएको ताररहित इन्टरनेट सेवाको योजना विश्व समुदायमाझ ल्याइदिनु नै उनको जीवनको टर्निङ प्वाइन्ट भयो । त्यसपछि उनलाई अमेरिकार युरोपबाट प्राप्त आर्थिक सहयोगले नाङ्गी र राम्चेमा इन्टरनेट सेवाको पहुँच पुर्याएका थिए । 

पुन ‘इन्टरनेट हल अफ फेम’, ’समग्र सामाजिक नवीनता पुरस्कार’, जोनाथन बी पोष्टल अवार्ड, एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागसेसे पुरस्कार’ जस्ता विभिन्न सम्मानद्वारा सम्मानित भइसकेका छन्। उनी सन् २०१२ मा राष्ट्रिय आविस्कार केन्द्र स्थापना गरेर अध्ययन, अनुसन्धान र आविस्कारको क्षेत्रमा क्रियाशील छन् ।

प्रकाशित : १७ वैशाख २०८२, बुधबार 19:44
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved