१८ वैशाख २०८२, बिहीबार 01 May 2025, Thursday

शिक्षकको नौबुँदे माग मन्त्रिपरिषदबाट  स्वीकृत : आन्दोलन स्थगित, बिहीबारदेखि विद्यालय सञ्चालन गर्न आग्रह

द नेप्लिज संवाददाता
१७ वैशाख २०८२, बुधबार

Advertisement

काठमाडौँ–  सरकारले नेपाल शिक्षक महासंघको नौबुँदे माग स्वीकृत गरेपछि लामो समयदेखि जारी आन्दोलन तत्कालका लागि स्थगित गरिएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहमति अनुमोदन गरेसँगै आन्दोलन फिर्ता लिइएको हो।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सहमतिसँगै बिहीबारबाट देशभरका विद्यालय नियमित सञ्चालनमा ल्याउन आग्रह गरेका छन्। उनका अनुसार सरकारले असार १५ भित्र नयाँ शिक्षा ऐन ल्याउने प्रतिबद्धता जनाएको छ।

'यदि सरकारले सहमतिको कार्यान्वयन नगरे अझ चर्को आन्दोलनमा जानुपर्छ,' सुवेदीले पत्रकार सम्मेलनमा चेतावनी दिँदै भने । 

शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकार र आन्दोलनरत शिक्षकबीचको नौबुँदे सहमति सार्वजनिक गरिएको हो। सहमतिलाई मन्त्रिपरिषद्ले स्वीकार गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएका छन्।

सहमतिका मुख्य बुँदाहरू यस्ता छन् :

१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।

२. अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायी/करार साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बालविकास सहजकर्ता)को बिरामी बिदा सञ्चित हुने र सोबापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रूपमा प्रदान गर्ने ।

३. प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने ।

४. आगामी आव २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सरह ग्रेड संख्या र रकम कायम गर्ने ।

५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी/करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा)का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।

६. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।

७. नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।

८. नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।

९. निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुने गरी कायम गर्ने ।

कक्षा १२ को परीक्षा वैशाख २१ बाट
सरकार र महासंघबीचको सहमति अनुसार स्थगित कक्षा १२ को परीक्षा वैशाख २१ देखि सञ्चालन हुने भएको छ। शिक्षक आन्दोलन वैशाख ११ देखि कक्षा १२ को परीक्षा स्थगनसम्म पुगेको थियो। महासंघले अब शिक्षकहरूलाई विद्यालय भर्ना, पठनपाठन र परीक्षा सञ्चालनमा सहभागी हुन आह्वान गरेको छ।

सरकारलाई ८ अर्बको थप वित्तीय दायित्व
शिक्षामन्त्री रघुजी पन्तका अनुसार शिक्षकहरूको माग कार्यान्वयन गर्न सरकारले वार्षिक ८ अर्ब रुपैयाँ बराबरको अतिरिक्त खर्च ब्यहोर्नुपर्नेछ। उनले अर्थ मन्त्रालयबाट पनि यसको सहमति प्राप्त भइसकेको जानकारी दिएका छन्।

संयमताको प्रशंसा
गृहमन्त्री रमेश लेखकले आन्दोलनका क्रममा शिक्षकहरूले देखाएको संयमताको प्रशंसा गर्दै आन्दोलनको शैली अनुकरणीय भएको बताएका छन्। उनका अनुसार केही शिक्षक घाइते भएका घटनाप्रति सरकार गम्भीर छ र क्षमायाचना गर्दछ। गृहमन्त्री रमेश लेखकले विद्यालय शिक्षा विधेयक जारी गरेर शिक्षकहरूको घरमै पठाउने बताएका छन् ।

शिक्षक महासंघको आन्दोलन २०८१ चैत २० देखि काठमाडौं केन्द्रित रूपमा शुरु भएको थियो। विगतमा भएका सहमति–समझदारी कार्यान्वयन गर्न सत्तारुढ दलहरू पनि प्रतिबद्ध भएका छन्। बुधबार सिंहदरबारमा महासंघ र सरकारबीचको वार्तामा सत्तारुढ दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिले विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित : १७ वैशाख २०८२, बुधबार 21:21
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved