✍️ सम्पादकीय
विराटनगर– नयाँ वर्ष २०८२ को पावन अवसरमा द नेप्लिज डट कमले सम्पूर्ण पाठक, शुभेच्छुक, स्रोत, आलोचक र सहयात्रीप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछ । हामीले २५ माघ २०८१ मा विराटनगरबाट सुरु गरेको यो डिजिटल यात्राले दुई महिना र केही दिन मात्र पूरा गरेको छ ।तर यो छोटो अवधि नै हाम्रो लागि जिम्मेवारीको ठूलो सिकाइ यात्रा बनिसकेको छ । नेपाल अहिले एउटा संक्रमणकालीन मोडमा उभिएको छ — जहाँ लोकतान्त्रिक संस्थाहरू कमजोर हुँदै गएका छन्, राज्यप्रति जनताको विश्वास घट्दो छ र राष्ट्र निर्माणको सपना सधैंजस्तो अधुरै छोडिएको अनुभव जनताले गरिरहेका छन् । ।
✦ राजनीतिक अन्योल र जनतामाथिको विश्वासघात
सत्ताको खेलमा दलहरूबीचको गठबन्धन र टकराव सत्ता प्राप्तिको केन्द्रमा सीमित छ । जनताका मुद्दा, गरिबी, शिक्षामा सुधार, स्वास्थ्यको पहुँच, श्रमिकको पीडा — यी सबै सत्ताको एजेण्डाबाट ओझेलमा छन् । न अदालतको स्वतन्त्रता सुरक्षित छ, न आयोगहरू विश्वसनीय छन् । यस्तो परिस्थितिमा स्वतन्त्र पत्रकारिता अझ आवश्यक र अझ जोखिमपूर्ण बन्दै गएको छ ।
✦ आर्थिक संकट र वैदेशिक पलायन
देशको अर्थतन्त्र ऋण, रेमिट्यान्स र आयातमा निर्भर छ । उत्पादनशीलता खस्कँदो छ । उद्योगहरू बन्द हुँदै छन् । विदेशी लगानी उत्साहित छैन । स्वदेशमा अवसर नपाएर युवाहरू झोला बोकेर विदेश जान बाध्य छन् । देशभित्र श्रमलाई इज्जत छैन, भविष्यप्रति भरोसा छैन ।
✦ सामाजिक असमानता र वञ्चनाको संरचना
सामाजिक दृष्टिले हेर्दा देश अझै जातीय, वर्गीय र क्षेत्रीय विभाजनको चक्रमा घुमिरहेको छ । दलित, महिला, आदिवासी, मधेशी, थारू लगायत सीमान्तकृत समुदायका मुद्दा सत्ताको प्राथमिकतामा पर्दैनन् । राज्यको पहुँच समान छैन, न्याय समान छैन ।
✦ धार्मिक ध्रुवीकरण र सांस्कृतिक चुनौती
नेपाल धर्मनिरपेक्ष राष्ट्र भए पनि पछिल्ला दिनहरूमा धर्मको नाममा विभाजनको राजनीति मौलाउँदै गएको छ । विविधतामा एकता हाम्रो सांस्कृतिक गहना हो । तर त्यो सहिष्णुतामा चुनौती आउन थालेको संकेतहरू देखिन थालेका छन् । केही शक्तिहरू सामाजिक सद्भाव भत्काउने प्रयत्नमा छन्, जुन खतरनाक संकेत हो ।
✦ यस्तो बेला पत्रकारिता कता ?
यी सबै चुनौतीबीच पत्रकारिता मौन बस्न सक्दैन । अझ यथार्थमा, संकटका बेला पत्रकारिताको भूमिका झन् निर्णायक हुन्छ । ‘द नेप्लिज डट कम’ ले त्यसैलाई आत्मसात् गर्दै पत्रकारितालाई केवल खबर लेख्ने माध्यम नभएर जनताको आवाज, पीडितको पक्ष र शक्तिलाई खबरदारी गर्ने औजारका रूपमा हेर्छ । हामीले कोशी प्रदेशको राजधानी विराटनगरबाट थालनी गरे पनि हाम्रो दृष्टि सम्पूर्ण नेपालमा छ । हामी प्रपञ्च होइन, अनुसन्धान खोज्छौं । सनसनी होइन, संवेदनशीलतालाई ध्यान दिन्छौं । जनताका पक्षमा उभिने पत्रकारिता गर्ने हाम्रो सपना हो — सस्तो लोकप्रियताभन्दा पर, विज्ञापनको मोहभन्दा टाढा ।
✦ २०८२ का लागि हाम्रो प्रतिबद्धता
नयाँ वर्ष २०८२ मा हामी यी पाँच कुरामा अडिग रहनेछौं :
१. जनउत्तरदायी पत्रकारिता : जनताको पक्षमा, जनतासँगै ।
२. सीमान्तकृत आवाजको प्रतिनिधित्व : गुमनाम आवाजलाई मुखर बनाउने ।
३. वस्तुनिष्ठता र अनुसन्धानमा आधारित समाचार : तथ्य, स्रोत र प्रमाणमा आधारित रिपोर्टिङ ।
४. दबाब र प्रलोभनविरुद्धको अडान : पत्रकारिताको स्वतन्त्रता जोगाउने ।
५. शिक्षा, स्वास्थ्य, अधिकार र सम्भावनाको मुद्दा उजागर गर्ने संकल्प ।
हामी विश्वास गर्छौं — पत्रकारिता सत्यको खोज हो, डर र दबाबमाथिको विजय हो । ‘द नेप्लिज डट कम’ तपाईंहरूसँगै सत्यको यात्रामा हो — तपाईंकै भरोसाबाट अगाडि बढ्दैछ । नयाँ वर्ष २०८२ ले सबैमा चेतना, सहिष्णुता, न्याय र आशाको उज्यालो ल्याओस् — हामी तपाईंहरूको आवाज बन्ने वाचा दोहोर्याउँछौं ।
यो वर्षको हाम्रो नारा नै हो, ‘नयाँ वर्ष, नयाँ ऊर्जा : जनता सँगसँगै साँचो पत्रकारिताको यात्रामा’ । तपाईंहरूको निरन्तर साथ, विश्वास र सुझावले हामीलाई पत्रकारिताको नयाँ यात्रा सुरु गर्न साहस, प्रेरणा र उद्देश्य दिएको छ। यो छोटो अवधिमा हामीले सिकेका कुरा, भोगेका चुनौती र पाएका अवसरहरू अमूल्य छन् । सीमित स्रोत र साधनका बाबजुद पनि सत्य, तथ्य र जनपक्षीय दृष्टिकोणप्रति हाम्रो प्रतिबद्धता अडिग छ ।
कुनै पनि प्रभाव, डर वा प्रलोभनबाट मुक्त रहेर खबर गर्ने, सहरदेखि गाउँसम्म, शासकदेखि पीडितसम्म सबैको आवाज उजागर गर्ने र हामीलाई पढ्ने/हेर्ने जनसमुदायप्रति जवाफदेही रहने वाचा गर्छौं । नेपालजस्तो विविधतापूर्ण देशमा पत्रकारिता केवल समाचार संकलन होइन—यो समाजप्रतिको जिम्मेवारी पनि हो । हामी जनताको आवाज बन्न चाहन्छौं, शासकलाई खबरदारी गर्ने ऐना बन्न चाहन्छौं र सत्य–अनुसन्धान–सजगता–सहयोगको सेतु बन्न चाहन्छौं ।
यस डिजिटल युगमा सूचना झनै छिटो फैलिन्छ । तर सत्यको खोज अझै कठिन छ । हामी त्यो कठिन बाटो रोज्नेछौं—जहाँ सजिलो प्रचार होइन, गहिरो पत्रकारिता जन्मिन्छ । नयाँ वर्ष २०८२ मा तपाईंहरूसँग अझ नजिकबाट जोडिन, नयाँ दृष्टिकोण ल्याउन र समाचारको सार्थकता जनतासम्म पु¥याउन हामी प्रतिबद्ध छौं । हामीसँग रहनुहोस् । सुझाव दिनुहोस् । समर्थन गरिरहनुहोस् । ‘द नेप्लिज डट कम’ तपाईंको आवाज हो — सरल, सत्य र सशक्त । फेरि पनि समृद्ध र सुखी मुलुकको चाहना सहित नयाँ वर्ष–२०८२ को भरपूर शुभकामना !
विचार/अन्तर्वार्ता
जब शिक्षामा लगानीको कुरा आउँछ, सरकार किन अड्किन्छ ?
जितेन्द्र साह५४ योजनामा १ खर्ब ३९ अर्ब लगानी भित्र्याउने लक्ष्यका साथ कोशी प्रदेश लगानी सम्मेलन आयोजना हुँदै
देव नारायण साहट्रम्प कर युद्धको छायाँमा नेपाल : विश्व व्यापारिक अस्थिरता र साना अर्थतन्त्रका चुनौतीहरू
जितेन्द्र साहदेशको व्यवस्था फेरिन्छ, सुविधाभोगी फेरिँदैन
जितेन्द्र साहपूर्वराजा ज्ञानेन्द्र पनि सुध्रिए, लोकतन्त्रवादी नेताहरु कहिले सुध्रिने ?
जितेन्द्र साहDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares