४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

कोशी प्रदेशमा पर्यटन विस्तार, तान्दै पर्यटक

विशाल घिमिरे
२१ फागुन २०८१, बुधबार

खोटाङस्थित हिन्दु, बौद्ध र किरात समुदायको समागम स्थल हलेसी महादेव । तस्बिर : लेखक

Advertisement

विराटनगर– कोशी प्रदेश पर्यटनको लागि नेपालका अन्य प्रदेशहरू भन्दा भिन्न र अत्यन्त उत्कृष्ट पहिचान बोकेको प्रदेश हो । यस प्रदेशले संसारका सबैभन्दा ८ हजार मिटरभन्दा अग्ला १४ र नेपालमा रहेका ८ हिमालमध्ये यस प्रदेशमा ५ वटा रहेको छ । 

संसारका अगला हिमाल कञ्चनजङ्गा, मकालु, लोत्से, आमादब्लम, लुप्से र पुमोरी जस्ता हिम श्रृङ्खला यस प्रदेशका गहना हुन् । हिमाली क्षेत्रमा हुने पर्यटन नै नेपालको अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ । यी हिम श्रृङ्खलाहरूमा पर्वतारोहण पर्यटन र साहसिक पर्यटनको लागि यो प्रदेश विश्व प्रसिद्ध रहेको छ । यसका साथै यस प्रदेशमा सबैभन्दा होचो भूभाग कचनक्वलदेखि संसारको नै सबैभन्दा अग्लो हिमाल सगरमाथा यसै प्रदेशमा छ । पहाडी भूभाग धर्म, संस्कृति, नीति निवास परम्पराले अत्यन्तै धनी छ । 

प्रदेशमा भएका धार्मिक सम्पदाहरू पर्यटनका लागि अर्को महत्त्वपूर्ण क्षेत्र हो । सबैले मानेको प्रख्यात पाथीभरा माता, संसारको नै पहिलो भगवान विष्णु भगवानको स्वरूप भएको वराह क्षेत्र, पौराणिक कुम्भ चतराधाम, पौराणिककालमा भगवान रामले बालेको रामधुनी, दन्तकाली, पिण्डेश्वर अनि हिन्दु र बौद्ध धर्मको समागम स्थल हलेसी महादेव, महाभारतकालिन राजा विराटको दरबार क्षेत्र यस प्रदेशको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हुन् । 

प्राकृतिक दृष्टिकोणले यस प्रदेशमा भएका झरणा, खोला, हरिया मनोरम वन, डाँडा, लालिगुराँसको राजधानी बसन्तपुर, चिया वगान, कन्यामको सुर्योदयदेखि चराको राजधानीसमेत भएको कोशीटप्पुको सूर्यास्त, हात्ती, हाव्री, अर्ना, कस्तुरी मृग, रेड पाण्डालगायत यी सबै हाम्रा पर्यटनका लागि महत्त्वपूर्ण सम्पदाहरू हुन् ।

यो प्रदेशको सिमानामा रहेको भारतीय प्रान्तहरू बिहार, पश्चिम बंगाल र आसामका अत्यन्त गर्मी हुने ठाउँहरूका भारतीय नागरिकहरूलाई यस प्रदेशमा मौसमी अनुकूलता, धार्मिक पर्यटन र मनोरम प्राकृतिक दृष्य हेर्नुका साथै मनोरञ्जनात्मक पर्यटनका लागि ल्याउन सकिने प्रयाप्त सम्भावना रहेको छ ।

१४ जिल्ला तथा १ महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिकाहरू गरी जम्मा १३७ स्थानीय तह विभाजन गरिएको सात प्रदेशहरूमध्ये एक सुन्दरतम समृद्ध प्रदेश कोशी हो । कोशी प्रदेशले २५,९०५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । हिमाल, पहाड, र तराई–मधेसको जनजीवनको समिश्रणले यस प्रदेशलाई सामाजिक र सांस्कृतिक विविधताले भरिपूर्ण बनाएको छ । उच्च हिमाली जलवायुदेखि महाभारत पर्वत शृंखलासम्मको भुभौगोलिक बनावट, वानस्पतिक विविधता तथा प्राकृतिक सौन्दर्य एवं विषमताका कारण प्राप्त प्रचुर जैविक विविधता यस प्रदेशको विशिष्टता हो । 

अनेकन् विविधताका अतिरिक्त जनजातीय, धार्मिक र सांस्कृतिक मौलिकता र पहिचान, स्थान पिच्छेका भाषिक एवं पारम्परिक भिन्नता र पाहुनालाई स्वागत सत्कार गर्ने संस्कृति यस प्रदेशको विशिष्ट पहिचान हो । तराई–मधेसको उर्वर भूमि, कृषिमा आधारित अर्थतन्त्र, उद्योग, व्यापार र यातायातको सञ्जालले यहाँको आर्थिक विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ । यी सबै क्षेत्रीय विशेषताहरूले कोशी प्रदेशलाई आर्थिक दृष्टिले नेपालको बहुआयामिक सम्भावनयुक्त प्रदेशको रुपमा स्थापित गरेको छ । 

यस प्रदेशले भारतको सिक्किम, पश्चिम बङ्गाल र विहार राज्यसँग सिमामा साझेदारी गर्दछ । प्रदेशको पूर्वी–दक्षिणवर्ती सिमा निकटका समुदायको सिमापार सांस्कृतिक र सामाजिक सम्वन्धले यस प्रदेशमा भारतीय पर्यटक आवगमनलाई सहज बनाएको छ । 

विश्व सम्पदा सूचीमा सूचिकृत सगरमाथा राष्ट्रिय निकुञ्ज, सिमसार संरक्षणका लागि रामसार सूचीमा सूचिकृत गोक्यो ताल, माइपोखरी र कोशी टप्पु वन्यजन्तु आरक्षलगायत जैविक विविधताले भरिपूर्ण मकालु वरुण राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्गा संरक्षण क्षेत्र, तीनजुरे मिल्के जलजलेको लालिगुँरास क्षेत्रका साथै धार्मिक रुपमा प्रसिद्ध तिर्थस्थलहरु वराह क्षेत्र, हलेसी महादेव, पाथिभरा मन्दिर, गुरु फाल्गुनन्द जन्मस्थान, विराट दरवार, किचकबध, कन्याम, श्रीअन्तु जस्ता प्रसिद्ध गन्तव्यहरू यस प्रदेशमा पर्दछन् । यहाँ कोच र किराँत सभ्यताका अनुपम विशिष्टताहरु उपलब्ध  छन् । सप्तकोशी नदीको वृहत जलाधार क्षेत्रले सिंगो कोशी सभ्यताको प्रतिनिधित्व गर्छ । नदीमा आधारित सभ्यताका लागि समेत कोशी नदि एक उत्कृष्ट गन्तव्य हो । 

ग्रामीण पर्यटनका लागि कोशी प्रदेशका विभिन्न स्थानहरू अत्यन्त उपयुक्त छन् । इलाम, श्रीअन्तु, कन्याम, करफोक, माइपोखरी, फालेलुङ, तिम्वुङ पोखरी क्षेत्र, रोङ, सलकपुर, पाँचथर, ताप्लेजुङका विभिन्न गाउँहरु, धनकुटा, भेडेटार, जेफाले, उदयपुर, खोटाङ, संखुवासभाको अरुण उपत्यका, मोरङको जेफाले, सिंहदेवीलगायत र भोजपुरको हलेसी महादेव धार्मिक स्थल ग्रामीण पर्यटनको उत्कृष्ट उदाहरण हुन् । वन्यजन्तुमैत्री खास गरेर हात्तीमैत्री पर्यटन बाहुनडाँगी जैविक विविधता र ग्रामीण पर्यटनको मोडल हुन् ।  कृषि पर्यटन र स्थानीय संस्कृतिको अनुभूत गर्ने अवसर ग्रामीण क्षेत्रमा प्रचुर मात्रामा छन् । ग्रामीण पर्यटनले स्थानीय रोजगारी सिर्जना र संस्कृतिको संरक्षणमा योगदान पुर्याउँछ ।

कोशी प्रदेश जैविक विविधताको दृष्टिले पनि सम्पन्न छ । विश्वका महत्वपूर्ण सिमसारहरुको सूचीमा उल्लेखित रामसार सूचीमा कोशीटप्पु वन्यजन्तु आरक्ष अर्ना र विभिन्न जलपक्षीका लागि प्रख्यात छ । नेपालमा पाइने जम्मा ८९५ प्रजातिका चराहरुमध्ये ५३५ प्रजातिका चराहरु कोशीटप्पुमा हेर्न पाइन्छन् । विश्व सम्पदा सूचीमा सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्ज र नेपालकै होचो उपत्यकालाई समेटेको भूभागले हिमाली क्षेत्रको जैविक विविधतालाई संरक्षण गर्दछ । 

कंचनजङ्गा, तिम्वुङपोखरी, सन्दकपुर, माइपोखरी, सभापोखरी, ह्यातुङ झरना, अरुण उपत्याका, चुरे क्षेत्र आदिले दीगो पर्यापर्यटन र पर्यावरणीय सन्तुलनका साथै, दीर्घकालीन आर्थिक विकासमा योगदान पुर्याउन सक्दछन् । यसका लागि पर्यटकमैत्री नीति कानुन, पर्यटकीय मैत्री व्यवहार लागयतका बिषयमा ध्यान दिन जरूरी रहेको छ । ट्राभल्स, ट्रेकिङ, होमस्टे, सवारी चालक,गाइड एवं भरियाहरूको प्रशिक्षण र संरक्षणसम्बन्धी सचेतना कार्यक्रमहरू आवश्यक छ ।

कोशी प्रदेशमा होटल व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको छ । विराटनगर, धरान, गाइघाट, काकरभिट्टा, धुलावारी, विर्तामोड, इलाम, श्रीअन्तु, कन्याम, वसन्तपुर, सल्लेरी, लुक्ला, नाम्चेवजार, हलेसी जस्ता सहर र गन्तव्यहरुमा सुविधायुक्त आधुनिक होटलहरू उपलब्ध छन् । यस प्रदेशका पहाडी तथा हिमाली जिल्लामा होमस्टेहरु लोकप्रिय बन्दै गएका छन् । जसमध्ये प्रदेशमा दर्ता भएर सञ्चालनमा रहेका होमस्टेको संख्या ६१ होटल ३२ र ट्राभल्सरट्रेकिङ एजेन्सी १०३ छन् । 

साहसिक पर्यटनमा सगरमाथा आधार शिविर ट्रेक, मकालु वरुण ट्रेक, कंचनजङ्गा आधार शिविर, तिम्वुङ पोखरी ट्रेक, मुन्धुम ट्रेल, र्याफ्टिङ, प्यारग्लाइडिङ, माउन्टेन बाइक, साइकिलिङ, एवं सहासिक पर्यटनसँग सम्वन्धित खेलकुदले पर्यटकलाई आकर्षित गरिरहेका छन् । प्याराग्लाइडिङ र माउन्टेन बाइकका लागि नयाँ गन्तव्य र सम्भावनाहरूको पहिचान हुने क्रम विस्तार हुँदैछ । 

कोशी प्रदेशका प्रमुख सिमाना नाकाहरूमा जोगवनी, काकरभिट्टा, र पशुपतिनगर, मनेभञ्जयाङ पर्छन्। यी नाकाहरू भारत र बङ्गलादेशका पर्यटकहरूको प्रवेशद्वार हुन् । यिनका अतिरिक्त अन्य सिमा नाकामा समेत पर्यटक आगमनलाई व्यवस्थित बनाउनका लागि स्वागत एवं सूचना कक्ष तथा रिफ्रेसमेन्ट सेन्टरहरुको निर्माण एवं स्तरोन्नतीलाई सरकारले प्राथामिकतामा राखी काम गर्नु आवश्यक छ । पर्यटक आगमनलाई थप सुरक्षित र भरपर्दाे बनाउनका लागि यातायातमा सहजता, मुद्रा सटही, नेपाली सिम कार्डको व्यवस्थापन, यातायात व्यवस्थापन, सूचना केन्द्रहरुको निर्माण आदि गर्न सके पर्यटक आगमन व्यवस्थित हुँदै जानेछ ।

पर्यटक सुरक्षामा प्रहरीको भूमिका महत्वपूर्ण छ । हालसम्म प्रहरी सेवाले आधारभूत सुरक्षा व्यवस्था प्रदान गरे पनि पर्यटक मैत्री सेवा र छिटो प्रतिक्रिया प्रणालीको अभाव देखिएको छ । प्रशिक्षित गाइड, स्वास्थ्यकर्मी र आपतकालीन सहायता सेवाहरूको उपलब्धता हुन सकेमा पर्यटक सुरक्षाको प्रत्याभुती पूर्ण रुपमा गर्न सकिन्छ । पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्रालयको मातहतमा कोशी प्रदेशको काँकडभिट्टा, पशुपतिनगर र सोलुखम्बुमा पर्यटक प्रहरीको इकाइ कार्यरत छन् । तर भौतिक पूर्वाधार र साधन स्रोतको अभावका वावजुद  सेवारत पर्यटक प्रहरीलाई अझ सुदृढ र सवल बनाउन आवश्यक छ । प्रादेशिक संरचना अन्तर्गत पर्यटक प्रहरीको परिचालन र व्यवस्थापन हुन सकेको खण्डमा पर्यटकहरुको सुरक्षा प्रत्याभुति बढउन सकिन्छ ।  

कोशी प्रदेश सरकारले पहिचान गरेका आर्थिक समृद्धिका विविध आधारहरूमध्ये पर्यटन एक महत्त्वपूर्ण बहुआयामिक सम्भावनायुक्त क्षेत्र हो । माथि उल्लेखित विविधता र विशिष्टताको अनुपम पहिचानले यस प्रदेशको पर्यटनको विकास मार्फत रोजगारीको अवसर सिर्जना गरी आर्थिक सुधारमा उल्लेखनीय भूमिका खेल्न सक्छ । कोभिड महामारीको मार परेर तंग्रिदै गरेको पर्यटन उद्योगलाई थप सशक्त र द्रुत गतिमा अघि बाउनु आवश्यक छ । 

वर्तमान समयमा निराशाले घेरिएको समाज र विदेश पलायन हुँदै गरेको प्रदेशको युवा जनशक्तिलाई प्रदेशमै कायम राख्न तथा प्रदेशमा नै केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुका साथै पर्यटनमार्फत राष्ट्रिय पूँजीको महत्त्वपूर्ण आधार तयार गर्न कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट मार्फत कोशी प्रदेश पर्यटन वर्ष २०८२ को अवधारणा र कार्यक्रम अघि सारेको छ ।

यस कार्यक्रम मार्फत कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक, र साहसिक पर्यटकीय गन्तव्यहरुको थप पहिचान गर्दै दिगो विकासको अवधारणा अनुरुप पर्यटन प्रवद्र्धन गरी प्रदेशमा रहेका पर्यटनका अवसर र सम्भावनाको उचित उपयोग मार्फत राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदान बढाउन संघीय सरकार, स्थानीय तह र निजी क्षेत्रसँगको सहकार्यमा कार्यन्वयन गर्ने गरी पर्यटन वर्ष २०८२ अभियानको सुरुवात गरिएको छ । 

यो अभियानले स्थानीय उद्यमीहरू, होटल तथा पर्यटन व्यवसायी, यातायात क्षेत्र, कृषक, पर्यटन सम्बद्ध उद्योगहरूको प्रवद्र्धनमा सहयोग पुर्याउँदै थप रोजगारीको अवसर सृजना गर्ने निश्चित छ । यसका अतिरिक्त समाजमा युवाहरुमा व्याप्त निरासालाई चिर्दै देश भित्र र प्रदेशमा उद्यम गर्न सकिन्छ भन्ने आत्माविश्वास स्थापित गर्न समेत यस अभियानले मद्दत गर्नेछ । 
 
कोशी प्रदेश पर्यटन वर्ष २०८२ ले पर्यटनका माध्यमबाट प्राप्त गर्न सकिने रोजगारी, स्थानीय भाषा, कला, साहित्य, संस्कृति, कृषि उत्पादन साना तथा मझौला उद्यम, भौगोलिक र प्राकृतिक सौन्दर्य लगायत प्रदेशको विविधताले दिएको अवसर तथा सम्भावनालाई प्रदेशबासीको जीवनस्तर उकास्ने माध्यम बनाउँदै स्थानीय अर्थतन्त्रका साथै समग्र प्रदेश तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न प्रमुख साधन सिद्ध हुनेछ । 

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को घोषणा प्रदेशकै समृद्धि र दिगो विकासका लागि एउटा दूरदर्शी प्रयास हो । तीनै तहका सरकार, नीजि क्षेत्र तथा सम्वद्ध सरोकारवालाहरु लगायत पर्यटनका सबै क्षेत्रलाई एकीकृत गरी पर्यटन मार्फत समग्र अर्थतन्त्रमा सुधार र प्रदेशवासी नागरिकहरुको समृद्धिमा टेवा पुर्याउने लक्ष्यसहितको यो अभियान प्रदेशका लागि दीर्घकालीन परिवर्तनको वाहक बन्छ ।

(लेखक पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश सचिव हुन् ।)

प्रकाशित : २१ फागुन २०८१, बुधबार 08:07
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved