२० वैशाख २०८२, शनिबार 03 May 2025, Saturday

समाचार टिप्पणी

भारत र पाकिस्तानको फोहोर भूराजनीतिमा नेपालको फुइँफाइँ

जितेन्द्र साह
१८ वैशाख २०८२, बिहीबार

Advertisement

विराटनगर–  गत साता भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणले दक्षिण एशियाको सुरक्षा चिन्तालाई पुनः विश्वको एजेन्डामा ल्याइदिएको छ। २६ निर्दोष हिन्दू पर्यटकहरूलाई लक्षित गरी गरिएको आक्रमणपछि भारतले पाकिस्तानमाथि सीधा संलग्नताको आरोप मात्र लगाएन, उसले यो घटनालाई अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा ‘टर्निङ प्वाइन्ट’ बनाउन खोजिरहेको देखिन्छ। यही परिप्रेक्ष्यमा भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेको यो नेपाल भ्रमणलाई केवल एक औपचारिक कार्यक्रम भनेर खुम्च्याउनु उपयुक्त हुँदैन।

चौथाइवालेले नेपालको सबैजसो मुख्य राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । ती भेटघाटहरूमा उनको मूल सन्देश स्पष्ट छ, ‘भारत आतंकवादको सिकार बनेको छ, हामीलाई क्षेत्रीय ऐक्यबद्धता चाहिन्छ।’ तर यो अभियान केवल नेपाल सीमित छैन। यो एक बहुआयामिक, बहुपक्षीय र वैश्विक कूटनीतिक प्रयास हो, जसमा भारतले शक्ति राष्ट्रहरू अमेरिका, चीन, रूस, बेलायत, फ्रान्स लगायतसँग सहानुभूति र समर्थनको आग्रह गरिरहेको छ।

भारतले हालको घटनालाई दुई तहमा उपयोग गरिरहेको देखिन्छ। पहिलो, पाकिस्तानलाई अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा एक्ल्याउने प्रयास र दोस्रो, आन्तरिक रूपमा राष्ट्रवादी भावना बलियो बनाउँदै आगामी राजनीतिक चुनौतिहरूमा लाभ लिने योजना ।

विगतका घटनाहरूलाई सम्झौं — सन् २०१९ को पुलवामा आक्रमणपछि भारतले बलाकोट स्ट्राइक गर्दै मात्र सुरक्षा सन्देश दिएन, सत्तारूढ भाजपाले त्यही भावनालाई चुनावी हतियार बनायो। अहिले पनि त्यस्तै परिदृश्य सिर्जना गर्न भारतले सान्दर्भिक संकेतहरू दिइरहेको छ। पाकिस्तानको आन्तरिक कमजोरी, कमजोर आर्थिक अवस्था र चरम राजनीतिक अस्थिरता भारतका लागि ‘राष्ट्रवादी प्रहार’ गर्न सहज जमिन बनेको छ।

अहिले भारतको सूचना युद्ध अभियान अन्तर्राष्ट्रिय मञ्चमा आतंकवादलाई पाकिस्तानसँग जोडेर प्रस्तुत गर्ने शैलीमा केन्द्रित छ। भारतीय विदेश मन्त्रालयको प्रेस स्टेटमेन्ट, भाजपा नेताहरूको वक्तव्य, अन्तर्राष्ट्रिय समाचार संस्थाहरूसँगको संवाद सबैको लय एउटै छ — ‘भारत आतंकवादको सिकार हो, दोषीलाई चिनौँ।’

भारतले अमेरिका, बेलायत, फ्रान्सजस्ता परम्परागत रणनीतिक साझेदारहरूसँग पछिल्ला दिनमा उल्लेख्य संवाद बढाएको छ। अमेरिकी विदेश विभागले पहलगाम घटनाको निन्दा गर्दै भारतको सुरक्षाप्रति समर्थन जनाइसकेको छ। बेलायतले पनि भारतप्रति ऐक्यबद्धता जनाएको छ। रूस र चीनजस्ता राष्ट्रसँग भारतको रणनीति अलि फरक किसिमको छ — ती मुलुकहरूसँग भारतले आतंकवादको मुद्दालाई मात्र हैन, समान सामरिक साझेदारीको सन्देश पनि सँगसँगै बोकेको छ।

भारतका लागि यो ‘आतंकवादविरुद्धको लडाइँ’ विश्व कूटनीतिक प्रासंगिकता बढाउने माध्यम बनेको छ। अन्तर्राष्ट्रिय समुदायमा पाकिस्तानप्रतिको धारणा नरम छैन र भारत त्यसलाई कूटनीतिक पूँजीको रूपमा प्रयोग गर्न चाहन्छ।

नेपालको अवस्था यस सन्दर्भमा निकै संवेदनशील छ। भारतसँग खुला सीमा, गहिरो सांस्कृतिक सम्बन्ध, रणनीतिक निर्भरता र ऐतिहासिक संलग्नता भएका कारण नेपालले भारतको चासोलाई उपेक्षा गर्न सक्दैन। तर उता, परराष्ट्र नीतिमा तटस्थता, सार्वभौम निर्णयको स्वतन्त्रता र ‘शान्ति क्षेत्र’ को अवधारणा पनि नेपालको आधारभूत नीति हो।

नेपालले यदि भारतसँग आतंकवादविरुद्ध ऐक्यबद्धता जनाउँछ भने त्यसले पाकिस्तानसँगको द्विपक्षीय सम्बन्धलाई असर गर्न सक्छ। यदि तटस्थता लिन्छ भने भारत असन्तुष्ट हुन सक्छ। यही असमञ्जसबीच नेपालको कूटनीतिक चाल बुद्धिमत्तापूर्ण हुनुपर्छ — भावनाको होडमा होइन, हितको गणनामा आधारित।

स्मरणीय छ, १९८०–९० को दशकमा भारतले नेपाललाई आतंकवाद नियन्त्रणका नाममा विभिन्न सुरक्षा सम्झौताहरूको प्रस्ताव दिएको थियो, जुन नेपालको तटस्थ परराष्ट्र दृष्टिकोणसँग मेल नखाएकाले त्यो बेलामा अस्वीकार गरिएको थियो। अहिलेको सन्दर्भ त्यसको ‘रिप्ले’ जस्तो नदेखिएला भन्न सकिन्न।

नेपाल सधैँभरिको एक ’बफर’ मुलुक मात्र होइन, दक्षिण एशियाली सन्तुलनका लागि आवश्यक विश्वासिलो साझेदार हो। यथार्थतः, नेपालले आफ्नो भूमिका रणनीतिक मौनता होइन, सक्रिय संयमका रूपमा प्रस्तुत गर्न सक्छ। भारतसँगको ऐतिहासिक मित्रतालाई सम्मान गर्दै र पाकिस्तानसँगको कूटनीतिक मर्यादालाई कायम राख्दै नेपालले क्षेत्रीय संवाद, आतंकवादको साझा परिभाषा र आपसी समझदारीको पक्षमा आवाज उठाउन सक्छ।

नेपालले सार्क जस्ता क्षेत्रीय संयन्त्रहरूको पुनर्जीवन, द्वन्द्व समाधानमा संवादात्मक पहल र अन्तर्राष्ट्रिय मानव अधिकार सन्धीहरूलाई आधार बनाएर आफ्ना कूटनीतिक धारणा उजागर गर्नुपर्छ। यही सन्देशले नेपाललाई ‘असहाय श्रोता’ बाट ‘चिन्तनशील साझेदार’ बनाउनेछ।

भारत अहिले आक्रोशमा छ — त्यो स्वाभाविक हो। पाकिस्तान बारम्बार आतंकवादी समूहहरूको संरक्षणकर्ता बनेको आरोप खेप्दै आएको छ — त्यो पनि तथ्यमा आधारित छ। तर आक्रोशको विकल्प हिंसा मात्र होइन, संवाद पनि हो। दक्षिण एशिया युद्धको बोझ थेग्ने अवस्थामा छैन। यहाँको गरिबी, विकास–विमुखता, अशिक्षा र असमानताको समस्याले गर्दा हरेक युद्ध जनताको पीडा मात्रै बन्छ।

नेपालको भूमि र भूमिका — दुवै संवाद र सन्तुलनका लागि उपयोगी बन्न सक्छन्। विजय चौथाइवालेको भ्रमण यसैको सन्देश पनि हो — भारत केवल ऐक्यबद्धता खोजिरहेको छैन, अन्तर्राष्ट्रिय समर्थनको आधार तयार गर्दैछ। अब नेपालले आफ्नो सन्देश के दिने भन्ने निर्णय गर्नु बाँकी छ।

(यो लेख, कुनै पनि मुलुक वा पक्षको समर्थन वा विरोधमा नभइ समसामयिक घटनाको विश्लेषणात्मक व्याख्या हो, जसको उद्देश्य पाठकलाई फराकिलो अन्तर्राष्ट्रिय परिप्रेक्ष्य बुझाउन मद्दत गर्नु हो।
 

प्रकाशित : १८ वैशाख २०८२, बिहीबार 12:05
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved